काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
साथै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रियसभाको बैठक पनि दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । अर्थमन्त्री डा.वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभामा पनि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा त्यसमाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
यता, प्रधानमन्त्रीले सोमबार संसद्मा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ सच्याउन विपक्षी दलहरूले माग गरेका छन् । यस विषयलाई लिएर संसद्मा राजनीतिक विवाद जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया