काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्नेबारे संसदमा स्पष्ट जवाफ दिन माग गरेको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै संसदमै आएर स्पष्ट विवरण दिनुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले करिब तीन करोड नेपालीको शीर निहुरिएको टिप्पणी गर्दै यसले राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षामा असर पारेको दाबी गरे ।
राईले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्नेबारे स्पष्ट विवरण दिनुपर्ने माग गरे ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले छाति चौडा बनाएर बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड नेपाली नागरिकको शीर निहुराएको हुनुपर्छ । रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो, नेपालले पनि भारतको जग्गा मिचेको छ । यो संसदमा रेकर्ड भएको छ र यो एउटा नजिरको रुपमा स्थापित भएको छ । जसमा सत्तापक्षका माननीयहरूले ताली पनि पड्काउनुभयो ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमासम्बन्धी नेपालको अडान कमजोर बनाउने भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश गएको दाबी गरे ।
उनका अनुसार यस्तो अभिव्यक्तिले “नेपाल पनि सीमा आक्रमणकारी हो” भन्ने गलत भाष्य स्थापित हुन सक्ने जोखिम रहेको छ ।
राईले प्रधानमन्त्री शाहले माफी मागेर आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया