काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिबारे नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
बालेनले आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ‘नेपालले भारतको केही जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए ।
त्यसबारे आपत्ति जनाउँदै कांग्रेसका प्रवक्ता देवराज चालिसेले बालेनको अभिव्यक्तिले राष्ट्रियताको सवालमा गम्भीर आघात पुगेको बताए ।
‘यो अभिव्यक्तिले, ऐतिहासिक तथ्यको अवमूल्यन गरेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको गम्भीर अतिक्रमणको विषय र नेपाल भारत सिमानाका जनताका बीचमा रहेको सामान्य प्राविधिक पक्षलाई एउटै डालोमा राखेर संसद्मै “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भनी गर्नुभएको बदनियतपूर्ण र अनावश्यक स्वीकारोक्तिले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र नेपाली जनताको राष्ट्रिय भावनामाथि क्रूर प्रहार गरेको छ। यसले दुई छिमेकी मुलुक बीच भएको कुटनीतिक माध्यामबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य सिमाना सम्बन्धि विषय सम्बोधन गर्ने सहमतिमा गम्भीर आघात पुगेको छ र यसले नेपालको दाबीलाई स्वतः कमजोर बनाउने आत्मघाती काम गरेको छ। प्रधानमन्त्री शाहले आजकै अभिव्यक्तिमा सीमा समस्याको विषयलाई लिएर भ्रामक र ग़ैर जिम्मेवार कूटनीति प्रदर्शन गर्नु भएको छ। सीमा समस्या वारे इङ्ल्यान्ड (बेलायत) सँग कुरा भइरहेकोु भनी दाबी गर्नुभएको विषय थप आपत्तिजनक र हास्यास्पद छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै वर्तमान परिप्रेक्ष्यमा दुई पक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक च्यानल र संयन्त्रलाई समेत बालेनले नजरअन्दाज गरेको कांग्रेसको ठहर छ ।
‘वर्तमान परिप्रेक्ष्यमा दुईपक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन आधारमा र के भन्न खोज्नुभएको हो ? यसले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया