गगन थापाको आशंका– ‘वर्तमान सत्ताले लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ तर्फ लैजान खोज्यो’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति  गगनकुमार थापा ले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ (निर्देशित लोकतन्त्र) तर्फ धकेल्न खोजेको आशंका व्यक्त गरेका छन् ।

शनिबार सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको आक्रोशको जगमा बनेको वर्तमान सत्ताले सोही असन्तुष्टिलाई उपयोग गर्दै लोकतान्त्रिक व्यवस्थालाई संकुचित पार्ने जोखिम देखिएको दाबी  गरेका हुन् । 

थापाले गणतन्त्रको स्वरूप र कार्यशैलीप्रति नागरिकमा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसलाई गलत दिशामा मोड्ने प्रयास भइरहेको टिप्पणी गरे । 

उनका अनुसार लोकतान्त्रिक जग बलियो बनाउनुको सट्टा शक्ति केन्द्रित गर्ने र प्रणालीलाई नियन्त्रणतर्फ लैजाने प्रवृत्ति देखिन थालेको छ ।

उनले वर्तमान गणतन्त्र व्यवहारमा ‘जनताको तन्त्र’ बन्न नसकेको भन्दै केही सीमित नेताको नियन्त्रणमा केन्द्रित भएको आरोप पनि लगाए । ‘गणतन्त्र नेताको तन्त्र जस्तो भयो, नागरिकको तन्त्र बन्न सकेन,‘उनले भने ।

थापाले संविधानले परिकल्पना गरेको गणतन्त्र पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसको सुधार अपरिहार्य भएको बताए । साथै, लोकतान्त्रिक प्रणालीमा विधिको शासन सर्वोपरि हुने भन्दै कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पारे ।

उनका अनुसार परिणाम मात्र होइन, त्यसलाई प्राप्त गर्ने प्रक्रिया पनि स्वच्छ हुनुपर्छ । पछिल्ला दिनमा ‘स्वच्छ परिणाम’को नाममा प्रक्रियागत कमजोरीलाई सामान्यीकरण गर्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले यसले लोकतन्त्रको स्वास्थ्यमा असर पार्न सक्ने चेतावनी दिए ।

थापाले कांग्रेसले यस्ता प्रवृत्तिप्रति सचेत रहँदै गणतन्त्रलाई वास्तविक अर्थमा नागरिकको तन्त्र बनाउन सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?