विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो बजेटका प्राथमिकता सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले शनिबार प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले जनताले छिटो र सहज सेवा पाउने गरी सेवा प्रवाह सुधार गर्ने बताएको छ। डिजिटल प्रणाली विस्तार गरेर सेवा अझ प्रभावकारी बनाइने योजना छ ।
कृषि क्षेत्रलाई मुख्य आधार बनाइने भएको छ । उत्पादन बढाउन आधुनिक प्रविधि, मेसिन र व्यवसायिक खेतीमा जोड दिइनेछ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उद्योग खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
पर्यटन विकासका लागि कोशी प्रदेशका धार्मिक, सांस्कृतिक र प्राकृतिक ठाउँहरूको संरक्षण गरिनेछ । साथै २०८३ साउनदेखि २०८५ असारसम्म “कोशी भ्रमण वर्ष” मनाइने योजना पनि छ ।
सडक, खानेपानी र सिँचाइ जस्ता पूर्वाधार सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । विशेषगरी व्यापारिक र रणनीतिक सडक निर्माणलाई तीव्र बनाइनेछ ।
सरकारले राजस्व संकलन बढाउन कर प्रणालीलाई डिजिटल बनाउने जनाएको छ। तर विपद् र संघीय अनुदान घट्दा बजेटमा केही दबाब परेको पनि उल्लेख गरेको छ ।
बजेटले महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका समुदायलाई विकासमा समेट्ने लक्ष्य राखेको छ। युवाका लागि सीप तालिम र रोजगारीका कार्यक्रम पनि ल्याइनेछ ।
त्यसैगरी विपद् व्यवस्थापन, चुरे संरक्षण र वन्यजन्तु-मानव द्वन्द्व घटाउने कामलाई पनि प्राथमिकतामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया