बजेटमा सुधारको संकेत देखिए पनि विपन्न वर्गको समस्यालाई बेवास्ता गरियो : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही संरचनागत तथा नीतिगत सुधारका सकारात्मक प्रयास भए पनि न्यून आय भएका र विपन्न वर्गका समस्या पर्याप्त रूपमा सम्बोधन नभएको बताएका छन् ।

नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले बजेटमा लामो समयदेखि नेपाली कांग्रेसले उठाउँदै आएका केही संरचनागत सुधारका विषय समेटिएको भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

उनले यस्ता सुधार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षका रूपमा कांग्रेसले सहयोग गर्ने स्पष्ट पारे ।

थापाले बजेटमा रहेका सकारात्मक पक्षको स्वागत गर्नुपर्ने उल्लेख गर्दै गरिबी निवारणका सवालमा सरकारको दृष्टिकोणप्रति भने गम्भीर असन्तुष्टि व्यक्त गरे । उनका अनुसार सरकार गरिबी हटाउनेभन्दा गरिबलाई नै विस्थापित गर्ने सोचबाट प्रभावित देखिएको छ ।

आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै उनले बजेटले त्यस्ता वर्गका नागरिकलाई पर्याप्त राहत दिन नसकेको दाबी गरे । कर तथा अन्य आर्थिक नीतिहरू पुनरावलोकन गर्दा पनि सरकार गरिब तथा निम्न आय भएका वर्गप्रति उदासीन देखिएको उनको भनाइ थियो ।

थापाले सामाजिक सञ्जालमा सरकारका विभिन्न निर्णयको प्रशंसा भइरहे पनि प्रतिपक्षको दायित्व लोकप्रियतामा बहकिने नभई संविधान, कानुन तथा राज्यका स्रोत–साधनमा सबै वर्गको समान पहुँच सुनिश्चित गराउनु रहेको बताए । सरकारले कुनै एक वर्गलाई मात्र लाभ पुग्ने गरी नीति तथा स्रोत परिचालन गर्न खोजे कांग्रेस त्यसविरुद्ध उभिने उनको भनाइ थियो ।

कार्यक्रममा उनले कांग्रेसका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्व केन्द्रित गतिविधिभन्दा जनताको बीचमा केन्द्रित हुन आग्रह गरे । थारु संघ, विद्यार्थी संगठन, महिला संघ तथा दलित संघलगायत संगठनहरूले आफ्ना समुदायका समस्या र हकहितका विषयमा गाउँ–गाउँ पुगेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

थापाले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नैतिक साहस, जनविश्वास र नागरिकसँगको निरन्तर सम्पर्क आवश्यक पर्ने उल्लेख गर्दै पार्टीका सबै संगठनलाई जनतामुखी गतिविधिमा सक्रिय हुन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?