आगामी निर्वाचनमा १०० स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार उठाउने गगन थापाको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहमा प्रमुख पदमा महिला उम्मेदवार उठाउने लक्ष्य रहेको बताएका छन् ।

शनिबार नेपाल थारु संघको अधिवेशनमा बोल्दै उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी अघि बढाएको जानकारी दिए । उनका अनुसार ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने योजना बनाइएको छ ।

थापाले उक्त लक्ष्य हासिल गर्न अहिलेबाटै महिला नेतृत्व विकास, प्रशिक्षण तथा उम्मेदवार तयारीमा जोड दिनुपर्ने बताए । उनले उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको र यसको नेतृत्व पुष्पा भुसालले गरिरहेको जानकारी दिए ।

त्यसैगरी, पार्टीभित्र नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको उल्लेख गर्दै उनले छिट्टै खुला आह्वान गरिने बताए । उनका अनुसार स्थानीय तहमा उम्मेदवार बन्न चाहनेहरूले अनिवार्य रूपमा उक्त एकेडेमीमा भर्ना भई तोकिएको कोर्स पूरा गर्नुपर्नेछ, त्यसपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने व्यवस्था हुनेछ ।

थापाले महिला सहभागिता बढाउन विभिन्न समुदायका सम्भावित उम्मेदवारलाई प्रशिक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिए । उनले पार्टीले आगामी निर्वाचनमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य लिएको पनि बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रातृसंस्थाहरूलाई सम्भावित उम्मेदवार पहिचान, प्रोत्साहन र प्रशिक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

त्यस्तै, उनले नेपाल विद्यार्थी संघलगायत नेतृत्व खाली रहेका भ्रातृसंस्थाहरूको नेतृत्व पनि एक–दुई दिनभित्रै टुंगो लगाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?