काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकार गरिब, सुकुमबासी र निमुखा वर्गको विरोधी रहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारलाई षड्यन्त्रको परिणाम बाट बनेको दाबी गरेका हुन् । उनले २०८२ साल भदौ २३/२४ गते भएको जेनजी आन्दोलनलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको बताए ।
पाण्डेले आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसपछि निर्वाचित संसदलाई बिना कारण विघटन गरिएको आरोप लगाए ।
उनका अनुसार विचार, सिद्धान्त, कार्यक्रम र लक्ष्यविहीन शक्तिलाई सत्तामा पुर्याइएको छ । उनले वर्तमान सत्ता संरचनाले सुकुम्बासी तथा गरिब वर्गको हित विपरीत काम गरिरहेको टिप्पणी पनि गरे ।
नेता पाण्डेले भने, ‘सर्वोच्च अदालत जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, प्रधानमन्त्री निवास जल्यो‘ त्यसपछि संसद विघटन गरियो। यो सबैमा षड्यन्त्र थियो भनेर बुझ्न जरुरी छ ।’
राजेन्द्रप्रसाद पाण्डेले पार्टी कार्यकर्तालाई आत्मसमीक्षा गर्दै पुनः संगठित हुन आग्रह पनि गरे। उनले विगतका संघर्षहरू पञ्चायत विरोधी आन्दोलन, जनआन्दोलन र जनयुद्धको स्मरण गर्दै अझ सशक्त संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार पार्टी एकता केन्द्र स्तरमा भए पनि तल्लो तहका कार्यकर्ताबीच अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन । उनले पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादी विचारधाराभन्दा माथि उठेर संगठन सुदृढ गर्न कार्यकर्तालाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया