काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएको बताएका छन् ।
शनिबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले महिला अधिकारको सम्मान र प्रभावकारी कार्यान्वयनबिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताए । उनले मानव अधिकारको अवस्था सुदृढ भएको समाजमा मात्रै महिला अधिकार पनि मजबुत र प्रभावकारी बन्न सक्ने धारणा राखे ।
उनले संवैधानिक व्यवस्थाअनुसार मानव अधिकारको सम्मान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु आयोगको प्रमुख दायित्व रहेको उल्लेख गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायका अधिकार सुनिश्चित गर्न आयोगले उजुरी संकलन, अनुगमन तथा सरकारलाई आवश्यक सिफारिस गर्ने कार्य निरन्तर गर्दै आएको जानकारी दिए ।
अध्यक्ष मगरका अनुसार सरकारी कार्यालयहरूमा शिशु स्याहार केन्द्र स्थापना तथा हानिकारक अभ्यासका रूपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि आयोगले सरकारलाई आवश्यक सिफारिस गरिसकेको छ । साथै, महिलामाथि बोक्सीको आरोप लगाएर गरिने दुर्व्यवहारलाई अपराधका रूपमा कानुनी मान्यता दिन आयोगले गरेको सिफारिस कार्यान्वयन भई हाल कानुनी सजायको व्यवस्था लागू भइसकेको उनले बताए ।
उनले बलात्कारका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा डीएनए परीक्षणसहितको विधिविज्ञान प्रयोगशाला स्थापना गर्न आयोगले गरेको सिफारिसअनुसार केही प्रदेशमा प्रयोगशाला स्थापना भइसकेको जानकारी दिए ।
अध्यक्ष मगरले संयुक्त राष्ट्रसंघ अन्तर्गत महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिको समितिमा आयोगका तर्फबाट छैटौं र सातौं आवधिक प्रतिवेदन पेश गरिएको पनि बताए ।
बालविवाहको कानुनी उमेर हद २० वर्ष कायम राख्ने वा संशोधन गर्ने विषयमा भइरहेको बहसप्रति संकेत गर्दै उनले आयोगले यस सम्बन्धमा राष्ट्रियस्तरमा अध्ययन तथा जाँचबुझ गरिरहेको बताए । विभिन्न क्षेत्रबाट सुझाव संकलन र अनुसन्धान जारी रहेको उल्लेख गर्दै उनले प्राप्त निष्कर्षका आधारमा सरकारलाई आवश्यक सिफारिस गरिने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया