काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताएकी छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेतृ भुसालले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गरिन् ।
ऐतिहासिक आन्दोलनहरूमा पत्रकार जगतले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै उनले प्रेस स्वतन्त्रता कुनै दल विशेषको मात्र नभई नागरिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ भएको बताइन् ।
नेतृ भुसालले पछिल्लो समय राज्यका तर्फबाट प्रेस स्वतन्त्रता र नागरिक अधिकार कटौती गर्ने प्रयास भइरहेको आरोप लगाउँदै मिडियालाई लोककल्याणकारी विज्ञापनबाट वञ्चित गर्ने र सङ्कुचित पार्ने काम भइरहेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले यसलाई ‘प्रति–क्रान्तिको चुनौती’ को संज्ञा दिँदै विज्ञापन रोकेर प्रेसलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयास भइरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘नेपाली जनताले पटक पटक गरेका आन्दोलन र बलिदानकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौँ । यस उपलब्धिमा प्रेस युनियनलगायत सङ्घसंस्थाहरूको योगदान अतुलनीय छ । हिजोको निरङ्कुश पञ्चायती व्यवस्थामा जस्तो सेन्सरसिप नभए पनि अहिले फरक प्रकृतिको त्रासको स्थिति सिर्जना गर्न खोजिएको छ ।
सूचना प्रविधिको विकाससँगै पत्रकारितामा अल्गोरिदम र डिपफेकजस्ता प्राविधिक चुनौती थपिएको उल्लेख गर्दै उनले यस्ता समस्याको सामना गर्न प्रेस जगत थप जिम्मेवार र व्यावसायिक हुनुपर्नेमा जोड दिइन् ।
साथै, पत्रकारहरूको पेसागत सुरक्षा, श्रमको सम्मान र व्यावसायिक हितका लागि नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी लगायतका सबै संगठनहरूले साझा एजेण्डामा सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।
नेतृ भुसालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू फेरि एक ठाउँमा उभिएर प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बेला आएको बताइन् । साथै, प्रेस युनियनको विधान अधिवेशनले समयसापेक्ष नीति निर्माण गर्दै देश र लोकतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया