प्रधानमन्त्री जनताको प्रश्नबाट भाग्न मिल्दैन : नीता घतानी

लोकपथ
35
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले संसद् र जनताको प्रश्नबाट भागेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्री साह जनताका प्रश्नको जवाफ दिनबाट पन्छिएको भन्दै आपत्ति जनाइन् ।

उनले प्रधानमन्त्रीलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिन चुनौती समेत दिइन् ।

सांसद घतानीले सरकारलाई प्रश्न गर्न नहुने खालको प्रवृत्ति विकसित हुँदै गएको भन्दै त्यसप्रति आक्रोश व्यक्त गरिन् । उनले लोकतन्त्र अन्ध समर्थनको व्यवस्था नभएको र सांसदहरू जनताको प्रत्यक्ष आवाज भएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘देशमा लोकतन्त्रका लागि एउटा घातक प्रवृत्ति देखिँदै गएको छ । सरकारलाई प्रश्न गर्न नहुने मानसिकता विकास हुँदै गएको छ । प्रश्न गर्नेहरूलाई नै गलत सावित गर्ने प्रयास भइरहेको छ । लोकतन्त्र ताली बजाउने भीडको व्यवस्था होइन । सांसदहरू जनताको आवाज हुन् र सरकारलाई निरन्तर जवाफदेही बनाउने शक्ति हुन् ।’

घतानीले प्रधानमन्त्री लोकप्रिय वा सरकार शक्तिशाली भए पनि सदन र जनताको प्रश्नभन्दा माथि कोही हुन नसक्ने बताइन् । यदि सरकारलाई आफ्नो कामप्रति विश्वास छ भने प्रधानमन्त्री सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिन किन हिच्किच्याउनु हुन्छ ? सत्ताको दम्भ दीर्घकालीन हुँदैन, तर जनताको आवाज र लोकतन्त्र सधैं जीवित रहन्छ,‘उनले भनिन् ।

उनले प्रधानमन्त्रीलाई जनताको प्रश्नबाट भाग्ने छुट नरहेको उल्लेख गर्दै लोकतन्त्रको अपमान कदापि सह्य नहुने चेतावनी समेत दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?