काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बरालले नेपालमा सुर्तिजन्य पदार्थ सेवनका कारण स्वास्थ्य समस्या र मृत्यु दर बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि कर वृद्धि आवश्यक रहेको बताएका हुन् ।
उनले नेपालमा सुर्तिजन्य पदार्थबाट प्रभावित हुनेको संख्या ८५ लाखभन्दा बढी पुगेको उल्लेख गर्दै १४ देखि २४ वर्ष उमेर समूहका करिब ८ लाख युवा तथा विद्यार्थी यस लतमा फसेको दाबी गरे । साथै, वार्षिक करिब ३९ हजार नागरिकको मृत्यु सुर्तिजन्य पदार्थकै कारण हुने गरेको उनको भनाइ थियो ।
सांसद बरालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कर वृद्धि गरेर सुर्तिजन्य पदार्थको सेवन नियन्त्रण गर्न सुझाव दिएको स्मरण गराउँदै भारतमा ५८ प्रतिशत र बंगलादेशमा ७३ प्रतिशतसम्म कर लाग्ने गरेको बताए । नेपालमा भने हाल ४० प्रतिशत मात्रै कर रहेको उल्लेख गर्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए ।
उनले सुर्तिजन्य पदार्थको सेवन नियन्त्रण गर्न कर वृद्धि नै सबैभन्दा प्रभावकारी उपाय हुने पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया