ओलीमाथि राजीनामाको चर्को दबाब, आज जवाफ दिने कार्यसूची तय

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । 

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने बैठकमा बाँकी नेताहरूले आफ्ना धारणा राखिसकेपछि ओलीले जवाफ दिने कार्यसूची छ । 

गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले ओलीमाथि राजीनामाको दबाब बढाउँदा उनी रक्षात्मक अवस्थामा पुगेका छन् । यद्यपि, आफू महाधिवेशनबाट निर्वाचित भएको भन्दै राजीनामा नदिने ओलीको अडान छ । 

शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिँदा ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेत मात्र उभिएका छन् । उनीहरूले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए । शनिबार महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए । शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?