सरकारी विज्ञापन वितरणमा सुधार गरिने छ : सञ्चारमन्त्री तिमिल्सिना

लोकपथ
0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी विज्ञापन वितरणमा अनियमितता र दुरुपयोग हुने गरेको गुनासो आएको उल्लेख गरे ।

मन्त्री तिमिल्सिनाले वास्तविक आवश्यकता भएका सञ्चारमाध्यमले अपेक्षित सहयोग नपाइरहेको तर केही संस्थाले राज्यको स्रोतको दुरुपयोग गरिरहेको अवस्था देखिएको बताए ।

उनले सञ्चार क्षेत्र, अनुसन्धानकर्ता तथा सरोकारवालाबाट यस विषयमा पर्याप्त बहस र अध्ययन हुन नसकेको टिप्पणी गरे ।

उनका अनुसार लोककल्याणकारी विज्ञापनमार्फत सरकारले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम सञ्चार क्षेत्रका लागि खर्च गर्दै आएको छ । जनताको करबाट संकलित स्रोतको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री तिमिल्सिनाले सरकारले आगामी दिनमा सरकारी विज्ञापन तथा अन्य सहयोग प्रणालीलाई तथ्यमा आधारित, पारदर्शी र जनमुखी बनाउने गरी सुधारका कदम चाल्ने बताए ।

कार्यक्रममा उनले सामुदायिक रेडियोहरूको महत्त्व अझै कायम रहेको उल्लेख गर्दै प्रविधिसँग अनुकूल बनाएर तिनलाई थप सशक्त बनाउन सरकार सकारात्मक रहेको जानकारी दिए । गाउँगाउँसम्म सूचना प्रवाहमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

साथै उनले नेपाली सञ्चार क्षेत्रमा निष्पक्ष, उत्तरदायी र व्यावसायिक पत्रकारितालाई थप मजबुत बनाउन सामुदायिक रेडियोहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?