काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विभाजनको दिशातर्फ जाने कुनै अवस्था नरहेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवास पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताएका हुन् ।
शेखर कोइराला बस्दै आएको निवासमा आज बिहान पुगेका थापाले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए ।
उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो । हामी सबै साथीहरू मिलेर प्रयत्न गरिरहेका छौँ । सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ ।’
थापाले पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति तथा निर्वाचन समिति सहमतिमै गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब के त्यहाँ अनुहार मन पर्दैन भन्नुपर्यो । त्योभन्दा बाहेक बाँकी रहने ठाउँ केही पनि छैन ।
उनका अनुसार पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने प्रयास जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया