काठमाडौं । सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा गरिने भएको छ ।
सगरमाथा र लोत्से आरोहण गरेकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाको बढुवा प्रक्रिया तत्काल सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई आवश्यक अवधि पूरा भएपछि हवल्दार पदमा बढुवा गरिने भएको छ ।
शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले यो जानकारी दिएका हुन् ।
अनिता कार्कीले जेठ ३ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् । निम दिकी शेर्पाले पनि सोही दिन बिहान ११ः५५ बजे सगरमाथा र जेठ ४ गते दिउँसो ३ः२५ बजे लोत्से हिमाल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया