काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरी ले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले पछिल्लो समय इटहरीमा लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन, स्रोत र पूर्वतयारी नहुँदा स्थानीय नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।
आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहित अत्यावश्यक सार्वजनिक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा प्रभावहीन बनेको उनको भनाइ थियो । दमकल अभावका कारण आगलागीका बेला नागरिकहरू निरीह बन्नुपरेको उनले उल्लेख गरे ।
सांसद चौधरीले दमकलसहित करिब १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधन जलेको जानकारी दिँदै ती साधनहरूको बीमा नगरिएको विषयमा कडा आपत्ति जनाए । जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बीमा नगरिनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उनको आरोप थियो ।
उनले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न पनि सरकारसँग माग गरे ।
सांसद चौधरीले भने, ‘जेनजी आन्दोलनपछि इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो । सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’
उनले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपतकालीन उपकरण उपलब्ध गराई आपतकालीन सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया