काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राखेका हुन् ।
उनले विपद्को समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद व्यवस्थापन र न्युनिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।
नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्रीले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पुर्याएको बताए ।
साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, भौगोलिक बनावटका कारण त्यति नै संवेदनशील पनि छ । विविध भूगोल, नदी र तालतलैयाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ ।’
सम्भावित विपद्को समयमा तत्काल उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यासहरू प्रभावकारी हुने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया