काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डमा यातायात अवरुद्ध भएको हो ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा बाढी आएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यहाँ वैकल्पिक बाटो पनि प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ । यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खसेपछि कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ ।
गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी बढी प्रभावित भएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरो खस्दा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि पहिरोको जोखिम बढेको छ । नाम्खा गाउँपालिका–२ क्षेत्रमा जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया