संसदीय सुनुवाइमा हतारो गरिएको भन्दै सांसद विष्टको आपत्ति, अनुमोदन समिति नामाकरण गर्न माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा अत्यधिक हतार गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

मंगलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकमा बोल्दै उनले सदस्यहरूलाई पर्याप्त अध्ययन समय नदिई निर्णय प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

बैठकमा सांसद विष्टले समितिको कार्यतालिका र कार्यशैलीमाथि प्रश्न उठाउँदै ६३ पृष्ठ लामो कार्य योजना अध्ययन गर्न पर्याप्त समय नदिइएको बताए । उनले कार्यतालिका अत्यन्त व्यस्त बनाइएको भन्दै सांसदहरूलाई खाना खाने वा सामान्य विश्राम गर्ने समयसमेत नरहेको गुनासो गरे ।

उनले संसदीय सुनुवाइको गरिमा र गम्भीरतालाई बेवास्ता गर्दै हतारमा निर्णय लाद्न खोजिएको आरोप लगाए । समितिको नाम ‘सुनुवाइ समिति’ भए पनि व्यवहारमा केही नसुन्ने शैली अपनाइएको उनको टिप्पणी थियो ।

बैठकमा उनले भने, ‘बिहान ८ बजे बैठकको खबर आउँछ, साढे ९ बजेदेखि बैठक बस्छ र ३ बजे नै सुनुवाइ गर्ने भनिन्छ । यति छोटो समयमा ६३ पृष्ठको दस्ताबेज कसरी अध्ययन गर्ने ? सांसदहरूलाई आफ्नो विवेक प्रयोग गर्ने समयसमेत नदिई सोझै नियुक्ति सुनाए भइहाल्छ नि । यदि छलफल नै नगर्ने र केही नसुन्ने हो भने यो समितिको नाम परिवर्तन गरेर ‘अनुमोदन समिति’ राखे हुन्छ ।’

सर्वोच्च अदालतजस्तो संवेदनशील निकायमा हुने नियुक्तिका विषयमा पर्याप्त छलफल र अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ अभ्यासका नाममा स्थापित प्रक्रिया र गम्भीरतालाई उपेक्षा गर्न नहुने बताए ।

विगतका केही विवादास्पद निर्णय र प्रक्रियालाई स्मरण गराउँदै सांसद विष्टले संसदीय समितिलाई ‘रबर स्ट्याम्प’ मा सीमित नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?