काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले संसद्को रोष्ट्रमबाट व्यक्त गरेका केही शब्दका कारण परेको असरप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।
प्रतिनिधिसभाको हालैको बैठकमा बोल्दै उनले संसदीय मर्यादा, सभामुखको आदेश र संसदीय अभ्यासप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आफ्ना केही अभिव्यक्तिलाई असंसदीय र अशिष्ट भन्दै प्रश्न उठेपछि सभामुखले ती शब्द हटाउन दिएको निर्देशनलाई सम्मानपूर्वक स्वीकार गरेको स्पष्ट पारे ।
पराजुलीले भने, ‘सदनको रोष्ट्रमबाट व्यक्त भएका मेरा केही शब्दहरू असंसदीय र अशिष्ट भएको भनी प्रश्न उठेपछि सम्माननीय सभामुखज्यूले ती शब्दहरू हटाउन दिनुभएको आदेशलाई म उच्च सम्मान गर्दछु । मेरा शब्दका कारण आम जनतामा परेको असर र दुःखप्रति म गहिरो क्षमायाचना व्यक्त गर्दछु ।’
उनले संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उनले सिकाएको संसदीय अभ्यास, अनुशासन र मर्यादाको पाठले आफूलाई मार्गनिर्देशन गरिरहेको बताए ।
बैठकमा ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामाथिको सैद्धान्तिक छलफल पनि सम्पन्न भएको छ । पराजुलीले सन् १२१५ को म्याग्नाकार्टादेखि नेपालको २०१६ सालको पहिलो संसदीय अभ्यास हुँदै हालसम्म बनेका सात वटा नियमावलीको विकासक्रम उल्लेख गर्दै नयाँ मस्यौदाले संसदलाई थप उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य लिएको बताए ।
नेपालको संविधानको धारा १०४ को उपधारा (१) बमोजिम गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावलीमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व र सहमति रहेको जानकारी पनि उनले दिए ।
नियमावलीमाथिको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरूले सुझाव तथा धारणा राखेका थिए । सांसदहरूबाट आएका रचनात्मक सुझावलाई स्वागत गर्दै पराजुलीले नियमावलीलाई अझ परिमार्जित र प्रभावकारी बनाउन संशोधन प्रक्रिया सुरु भएको बताए ।
सैद्धान्तिक छलफल समाप्त भएसँगै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समयसीमा सुरु भएको छ । समितिले प्राप्त सुझाव र संशोधन प्रस्तावमाथि पुनः छलफल गरी आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया