सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनुपर्ने व्यवस्था गरौँ : युवराज दुलाल

लोकपथ
0
Shares

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन् ।

प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । उनले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद् भने त्यो आलोचनाबाट मुक्त हुने गरी संचालन गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘संसदीय व्यवस्थामाथि धेरै टिकाटिप्पणीहरु छन् । यसलाई गफ गर्ने अखडाको रूपमा पनि आलोचना गरिन्छ । त्यस कारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो । र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो । र, गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरुलाई निरंकुश नहोस् राजाहरू भनेर त्यति बेला म्याग्नाकार्टा गरियो । आज पनि संसदमा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन र जनतामा समस्यामा काम हुने गरी संसदलाई स्थापित गराउन सरकारलाई यो संसदप्रति जवाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसदप्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ ।’

प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?