काठमाडौं । केन्द्रीय कारागार अर्थात् सेन्ट्रल जेल । यही जेलभित्र महिला बन्दीगृहसमेत रहेको छ । देशकै सबैभन्दा सुरक्षित मानिएको यही जेलबाट २०८३ जेठ १ गते शुक्रबार रातिदेखिको प्रयासमा जेठ २ गते बिहान एक महिला अग्लो पर्खाल नाघेर फरार भइन् ।
६ वर्षीया बालिकाको अपहरण तथा शरीर बन्धक, डाँकाचोरी र हत्याको कसुरमा जन्मकैदको सजाय पाएकी नुवाकोटको विदुर नगरपालिकाकी सपना तामाङको कथा हो यो, जो केन्द्रीय कारागारको पर्खाल नाघेर भाग्न सफल भइन् । शनिबार बिहान १ बजेको समयमा केन्द्रीय कारागारको पर्खाल नाघेर भागेकी उनै सपना तामाङलाई सोमबार बिहान १ बजेकै समय अर्थात् ४८ घण्टाको अवधिमा प्रहरीले काठमाडौंको असनबाट पक्राउ गरेको छ ।

केन्द्रीय कारागारबाट भागेर ब्वाईफ्रेन्डको घरमा लुक्न पुगेकी सपनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सोमबार बिहान १ बजे असनमा रहेका प्रेमी समीर श्रेष्ठको कोठाबाट नियन्त्रणमा लियो ।
को हुन् सपना तामाङ ? अनि कसरी पुगिन् जेलमा ?
२०७७ साल मंसिर २१ गते रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ फैलिगाऊँकी ६ वर्षीया बालिका सुमिना तामाङ विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भइन् । विद्यालयबाट घर गएकी बालिका साँझ अबेरसम्म पनि घरमा नपुगेपछि आफन्तले वरिपरि खोजबिन गरे, तर उनी फेला परिनन् ।
सुमिना फेला नपरेपछि आफन्त तथा परिवारले खोजीका लागि सुरुमा प्रहरीमा मौखिक जानकारी र त्यसको भोलिपल्ट लिखित निवेदन दिए ।
त्यसपछि थप सक्रिय बनेको प्रहरीसहितको टोलीले खोजी गर्दा २०७७ मंसिर २२ गते सुमिनाको शव कालिका गाउँपालिकाकै नागुर्दुङ भीरको ओडारभित्र घाँसले छोपेर राखेको अवस्थामा फेला पर्यो ।
त्यस घटनाको अनुसन्धान गर्दै जाँदा उक्त बालिकाको हत्यामा नुवाकोटको विदुर नगरपालिका स्थायी ठेगाना भएकी २० वर्षीया (तत्कालीन समयमा) सपना तामाङको संलग्नता रहेको तथ्य खुल्यो । ६ वर्षीया बालिका सुमिनाले आफ्नो कानमा लगाएको सुनको टप लुटपाट गर्न सपनाले बालिकाको अपहरण गरेकी थिइन् । त्यसपछि लुटपाटको पोल खुल्ने डरले सपनाले बालिकाको हत्या नै गरेको खुलेको हो ।
तत्कालीन समयमा करिब १० हजार रुपैयाँ पर्ने सुनको टप लुट्न सुरुमा सपनाले सुमिनाको अपहरण गरेकी थिइन् । फकाएर बालिकालाई एकान्तमा लगेपछि सपनाले बालिकाको कानमा रहेको सुनको टप निकालेकी थिइन् । उक्त सुन लुटपाट गर्दा बालिकाले आमालाई भनिदिन्छु भनेर सपनालाई धम्की दिएपछि आफ्नो पोल खुल्ने डरले सपनाले बालिकाको घाँटीमा डोरीले कसेर हत्या गरेकी थिइन् ।
हत्यापछि सपनाले बालिकाको स्कुल ड्रेससमेत फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा लुकाएकी थिइन् भने शवचाहिँ भिरमा रहेको ओडारभित्र लगेर घाँसले छोपेर राखेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रसुवा तथा स्थानीयको सहयोगमा सपनालाई पक्राउ गरी अनुसन्धान गर्दा सुमिनाको हत्या आफूले गरेको सपनाले स्वीकार गरेकी थिइन् । साबिती बयान तथा अन्य प्रमाणका आधारमा प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रसुवाले सपनाविरुद्ध अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा अभियोग दर्ता गराएको थियो ।

त्यसपछि रसुवा जिल्ला अदालतमा थुनछेकमा क्रममा उनलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो भने पछि सुनुवाइका क्रममा रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
जन्मकैदको फैसला भएपछि उनलाई केन्द्रीय कारागार सुन्धाराभित्र रहेको महिला बन्दीगृहमा पठाइएको थियो । सपनाले त्यहीँबाट कैद भुक्तान गरिरहेकी थिइन् ।
जेनजी आन्दोलनमा पहिलोपटक ‘जेल ब्रेक’
जन्मकैदको फैसला भएपछि केन्द्रीय कारागारमै कैदी भुक्तान गरिरहेकी सपना पहिलोपटक गत भदौ २४ गते जेलबाट भागेकी थिइन् । जेनजी आन्दोलनका क्रममा अन्य कैदी बन्दीसँगै सपना पनि भागेकी थिइन् । पछि उनलाई २०८२ कात्तिक १६ गते रसुवाको गोसाईंकुण्ड गाउँपालिकाबाट पक्राउ गरी पुनः केन्द्रीय कारागारमा राखिएको थियो ।
दोस्रोपटक जेल ब्रेकको योजना र सफलता
पहिलोपटक जेलबाट भागेर करिब २ महिना जेलबाहिर बसेकी सपनालाई बाहिरी संसार रमाइलो लाग्ने नै भयो । त्यसपछि उनी फेरि जेलबाट बाहिर निस्कने योजना बनाउन थालिन् ।
पहिलोपटक जेलबाट भागेर बाहिर बस्दा प्रेमी समीर श्रेष्ठसँगै विभिन्न स्थानमा घुमघाम गरेकी सपना फेरि पनि भागेर बाहिरै बस्ने योजनामा थिइन् । उनको योजनामा महिला बन्दीगृहकै एक बन्दीले साथ दिइन् । अपहरण तथा शरीर बन्धक र जिऊ मास्ने बेच्ने कसुरमै थुनामा रहेकी ती महिलाले सपनालाई कसरी जेलबाट भाग्न सकिन्छ भनेर योजना दिइन् । ती महिलाले कुन स्थानबाट कसरी भाग्न सकिन्छ र कति बजे भाग्दा निस्कन सकिन्छ भनेर योजना बनाई सुरुमा दुवैजना सँगै भाग्ने योजनामा रहेको सपनाले बताएकी छिन् । तर पछि भाग्दा भने सपना तामाङ एक्लै भागेकी थिइन् ।

योजनाअनुसार १२ फिटभन्दा अग्लो पर्खालको भित्रपट्टि सपनाले तरकारी ल्याउने क्रेटहरू राखिन् । ६ वटा क्रेट राख्दा पर्खालको माथि चढ्न सक्ने अवस्था बन्यो । त्यसपछि सोही क्रेटमाथि चढेर केन्द्रीय कारागारको महिला बन्दीगृहबाट सपना जेठ २ गतेको बिहान (राति) १ बजेको समयमा उक्त पर्खालको माथि चढिन् । अनि त्यही पर्खालबाट भुईँमा फाल हानेर भागिन् ।
उक्त दिन आफू त्यहाँबाट भागेर हिँड्दै ठमेलसम्म पुगेको सपनाले प्रारम्भिक बयान दिएकी छिन् । ठमेलमा पुगेर एक ट्याक्सी चालकको मोबाइलबाट सुरुमा समीर श्रेष्ठको बुवालाई फोन गरेको सपनाले बताएकी छिन् । त्यसपछि समीर श्रेष्ठको बुवा लिन आएको र समीरको कोठामा गएको पाइएको छ ।
जेठ २ गते बिहानै प्रहरीले समीर श्रेष्ठको बुवालाई फोन गरेर प्रहरी कार्यालयमा बोलाएको थियो । त्यसपछि आत्तिएका समीर श्रेष्ठका बुवाले समीर र सपनालाई त्यहाँबाट भगाएका थिए । जेठ २ गते दिनभर उनीहरू विभिन्न स्थानमा घुमेर ललितपुरमा रहेको समीरको ठूलो बुवाको घरमा पुगेका थिए ।

तर यता प्रहरीले समीरको बुवालाई पक्राउ गरी ल्याएपछि सपनाको पोल खुलिसकेको थियो । त्यसपछि प्रहरीले व्यापक खोजी गरिरहेकै अवस्थामा जेठ ३ गते रातको समयमा समीर र सपना असनमा रहेको डेरा कोठामै फर्किए । डेरा कोठामा फर्किएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सपना र समीरलाई जेठ ४ गते सोमबार बिहान १ बजेको समयमा असनमा रहेको समीरको डेरा कोठाबाटै पक्राउ गरेको हो ।
जेलमै हुँदा समीरसँग चिनजान र प्रेम सम्बन्ध
सपना र समीरको भेटघाट र चिनजान केन्द्रीय कारागारकै महिला बन्दीगृहमा भएको थियो । सपनाले बताएअनुसार समीरको आमा सीता थापा पनि सपनासँगै केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेकी थिइन् । सपनाका अनुसार सीता बम विस्फोटको घटनामा पक्राउ परी (पुष्टि हुन नसकेको) कैद सजाय भुक्तान गरिरहेकी महिला हुन् । त्यही क्रममा समीर श्रेष्ठ आमाका लागि माला बुन्नका लागि सामान तथा कपासहरू लिएर जाने गर्दथे । सोही क्रममा हाल २५ वर्षमा लागेकी सपना तामाङ र समीर श्रेष्ठको चिनजान भएको थियो ।

चिनजान बिस्तारै प्रेम सम्बन्धमा परिणत भएको थियो । उता समीरकी आमा भने सुन्धारा कारागारबाट सरुवा भई अन्यत्र पुगिसकेकी थिइन् । प्रेम सम्बन्धमा रहेपछि सपना र समीरबीच बारम्बार कुराकानी भइरहन्थ्यो । कारागारकै टेलिफोनबाट समेत सपना र समीरबीच कुराकानी हुने गरेको पाइएको छ ।
पहिलोपटक जेलबाट भाग्दा समीरसँगै लिभिङमा !
पहिलोपटक गत भदौ २४ गते जेलबाट भागेपछि समीरसँगै नै समय बिताएको समेत पाइएको छ । सपना जेलबाट भागेपछि समीर श्रेष्ठसँगै भेटी समीर र सपना रसुवा जिल्लाका विभिन्न स्थानमा घुमफिर गरी सँगै बसेका थिए । सुरुका केही दिन काठमाडौं र त्यसपछि रसुवालगायतका जिल्लामा उनीहरू सँगै बस्दा कात्तिक १६ गते सपना पक्राउ परी पुनः केन्द्रीय कारागारमा ल्याइएको थियो ।
दोस्रोपटक भाग्दा पनि सपना समीरसँगै बस्न चाहन्थिन् । तर सोझै समीरलाई सम्पर्क गर्दा प्रहरीले थाहा पाउने डरले सपनाले ट्याक्सी चालकको मोबाइलबाट समीरको बुवालाई फोन गरेर पछि समीरसँग भेट गरेकी थिइन् । भेटपछि समीरसँग नै सपनाले रात बिताएकी थिइन् ।
सानै उमेरदेखि अपराध कर्ममा सपना
सपना त्यसभन्दा अगाडि पनि डाँकाचोरीलगायत कसुरमा पक्राउ परी सजाय भोगिसकेकी महिला रहेको पाइएको छ । केही कसुरमा चोरी भएको सामान फिर्ता गर्ने गरी नाबालिग रहेको कारण मुद्दा चलाइएको थिएन भने सी मालाको डाँका चोरी कसुरमा उनी २ महिना जेल बसेर छुटेकी थिइन् । तर उनको अपराधको ग्राफ बढ्दै जाँदा उनले १० हजार रुपैयाँ पर्ने कानमा लगाएको टपको लुटपाट गर्दा बालिकाको हत्या नै गरिन् । लुटपाटको घटनाको पोल खुल्ने डरले बालिकाको हत्या गर्दा उनी जन्मकैदको सजाय पाएर कैद भुक्तान गरिरहेकी थिइन् ।
हालको कानुनी व्यवस्थाअनुसार जन्मकैदको सजाय २५ वर्षको हुन्छ । तर उनले अहिले जेलसमेत तोडेर भागेका कारण उनलाई डेढी सजाय हुनेछ । अर्थात् उनी अब २५ वर्ष र थप १२ वर्ष ६ महिना गरी कुल ३७ वर्ष ६ महिना जेलमै बस्नुपर्नेछ ।
हाल ५ वर्ष कैद भुक्तान गरेकी सपना अब ३२ वर्ष ६ महिना जेलमै बस्नुपर्ने हुन्छ । अन्य कुरा यथावत् रहेमा ५७ वर्ष ६ महिनाको उमेरमा जेलबाट निस्कनेछिन् ।
यस्तो छ सपनाको ४८ घण्टाको टाइमलाइन
जेठ २ गते शनिवार बिहान १ बजे : केन्द्रीय कारागारको भित्रपट्टिको भागमा तल तरकारीको क्रेट राखेर माथि चढी पर्खाल नाघेर फरार ।
जेठ २ गते शनिवार बिहान १ः३० बजे : ठमेलमा पुगेर एक व्यक्तिको मोबायलबाट समीर श्रेष्ठको बुवालाई फोन गरेर समीरलाई लिन पठाइदिन आग्रह ।
जेठ २ गते शनिवार बिहान २ः३० बजे : असनमा रहेको समीर श्रेष्ठको कोठामा आइ बास बसेको ।
जेठ २ गते शनिवार बिहान ८ बजे : समीरको बुवालाई प्रहरीबाट फोन गएपछि उनीहरु कोठाबाट भागेर गए ।
जेठ २ गते शनिवार बिहान ९ बजे : समीरको कोठाबाट निस्केर काम खोज्दै जब सेन्टरहरुमा समेत पुगेको ।
जेठ २ गते शनिवार अपरान्ह १ बजे : समीर र सपना हिँड्दै विभिन्न स्थानहरुमा पुगेको ।
जेठ २ गते शनिवार साँझ ७ बजे : ललितपुरमा रहेको समीरको ठूलो बुवाको घरमा पुगेर बास बसेको ।
जेठ ३ गते आइतबार (दिनभर) : विभिन्न स्थानहरुमा पुगेर घुमघाम गर्ने तथा काम खोज्ने प्रयास गरेको ।
जेठ ३ गते आइतबार साँझ : ललितपुरमा रहेको समीरको ठूलो बुवाको घरबाट निस्केर विभिन्न स्थानहरुमा पुगेको ।
जेठ ३ गते आइतबार राति : विभिन्न स्थानहरुमा घुमेर राति करिब १२ बजे असनमा रहेको डेराकोठामा पुगेको ।
जेठ ४ गते सोमबार बिहान १ बजे : सपना र समीर पुनः डेराकोठामा पुगेको जानकारी पाएलगत्तै पुगेको प्रहरीले दुवैजनालाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया