काठमाडौं । पोखराको रात्रिकालीन व्यवसायमा बेथिति भित्रिएको स्थानीय, तथा व्यवसायीले गुनासो गरेका छन् । खुकुलो
नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति र असुरक्षा मौलाएको उनीहरुको आरोप छ । व्यवसायीले २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।
पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग संवद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाइ गर्न माग गरेका हुन् ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे ।
सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर उक्त निर्णयपश्चात मापदण्ड पालना नहुँदा र फितलो अनुगमनका कारण शान्ति सुरक्षामा समेत गम्भीर असर परेको व्यवसायीहरूको ठहर छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरा शहर २४ सै घण्टा खुला राख्ने सरकारको निर्णयप्रति होटल संघ पोखराले पनि असन्तुष्टि व्यक्त गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो अवधारणा प्रभावकारी नभएको टिप्पणी गरे । अध्यक्ष सुवेदीकाअनुसार पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले समयमै खानपान गर्ने अभ्यास रहेकाले मध्यरातमा बजार खुला राख्नुको औचित्य देखिएको छैन ।
व्यवसायीहरूकाअनुसार २४ सै घण्टा बजार खुला रहँदा पर्यटकीय गतिविधि बढ्नुको साटो स्थानीय युवापुस्तामा नकारात्मक असर परिरहेको छ । डिस्को, क्लव र दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरूले युवाहरूलाई गलत बाटोतर्फ डोहोर्याएको तर त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको संघको ठहर छ ।
पोखरा महानगरपालिका वडा नम्बर–६ का स्थानीय बासिन्दाले रात्रिकालीन व्यवसायका कारण उत्पन्न सामाजिक समस्या र बेथितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
विशेषगरी पर्यटकीय क्षेत्रमा सञ्चालित क्लव तथा डान्स बारहरूका कारण स्थानीयको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ ।
रात्रिकालीन व्यवसायमा संलग्न व्यक्तिहरू र त्यहाँ जाने ग्राहकहरूको अमर्यादित व्यवहारले टोल छिमेकमा नकारात्मक असर पुगेको भन्दै स्थानीयले यसको उचित व्यवस्थापन र नियमनका लागि ध्यानाकर्षण गराएका छन् । रातभर सञ्चालन हुने यस्ता गतिविधिले एकातिर ध्वनि प्रदुषण बढाएको छ भने अर्कोतिर बिहानको समयमा हिँडडुल गर्ने सर्वसाधारणले असुरक्षित र असहज महसुस गर्ने गरेका छन् ।
पर्यटकीय राजधानी पोखराको गरिमा बचाउन र पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसायको उचित व्यवस्थापन अनिवार्य देखिएको छ ।
व्यवसायीको लापरवाही र नियमनकारी निकायको मौनताले गर्दा पर्यटन क्षेत्र थप जटिल मोडमा पुग्ने जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने होटल तथा पर्यटन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी ठोस निर्णय लिइने बताइन्।
व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरू आफैँले पनि आन्तरिक नियमन गर्नुपर्ने र तोकिएका मापदण्ड पालना भए/नभएको विषयमा प्रशासनले नियमित अनुगमन गर्ने उनको भनाइ छ । उनले अनुगमन र नियमनको प्रक्रियालाई थप सुदृढ बनाउन व्यवसायीहरूको सहयोग अपरिहार्य रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया