काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरुलाई एक बनाएर लैजाने तयारीमा रहेको बताएका छन् ।
आइतबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
आफू विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आए पनि १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरुलाई उचित जिम्मेवारी दिएर अघि बढ्न चाहेको बताए ।
शनिबार एक कार्यक्रममा बोल्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले गगनले पार्टीलाई मिलाएर अघि बढ्न नसकेको आरोप लगाएका थिए । साथै विशेष महाधिवेशनमा सहयोग गरेकाहरुलाई मात्रै बोकेर हिँड्दा पार्टी नै विभाजनको डिलमा पुग्ने त होइन भन्ने आशंका व्यक्त गरेका थिए । त्यसबारे प्रतिक्रिया दिँदै सभापति थापाले शीर्ष नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन समेत तयार रहेको स्पष्ट पारे ।
‘१४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको ठूलो पंक्ति बाहिर छ । म के भनिरहेको छु भने १४औँ महाधिवेशनबाट निर्वाचित जति पनि नेताहरु अहिले केन्द्रीय समितिमा हुनुहुन्न, जो जो चाहनुहुन्छ, उहाँहरुलाई मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर म उहाँहरु सँगै भएर लिएर काम गर्न चाहन्छु,’ उनले भने ।
१५औँ महाअधिवेशनको मिति तय भएको भन्दै त्यसमा जिम्मेवारी दिइएको नेताहरु बाहेक बाहिर रहेका अन्य नेताहरुलाई समेत समेटेर अघि बढ्न आफू तयार भएको उनले बताए ।
त्यस्तै विशेष महाधिवेशनमा सहयोग गरेको वा नगरेको आधारमा कसैलाई पनि अवसर दिने वा बन्चित गर्ने काम आफूबाट नहुने समेत उनको भनाइ रहेको छ ।
‘अवसरको सन्दर्भमा को विशेष महाधिवेशनमा आएको थियो, को विशेष महाधिवेशनमा आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, चाहे त्यो प्रादेशिक सरकारका बारेमा, चाहे त्यो संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस् या चाहे त्यो भ्रातृ संस्थाका बारेमा होस् । एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन,’ उनले भने ।
त्यस्तै आफूहरुले पार्टीलाई थप सशक्त बनाएर अघि बढाउन चाहेको र त्यही अनुसार काम गरिरहेको बताए । साथै आगामी स्थानीय तहदेखि संघको निर्वाचनसम्म सभापति वा पार्टी नेतृत्वले आफूले चाहेको मान्छेलाई टिकट दिने परम्परा तोड्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया