पूर्वप्रधान न्यायाधीशको संयोजनमा ‘संविधान सुधार सुझाव आयोग’ बनाउन अर्जुननरसिंह केसीको माग

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपालको वर्तमान संविधानको आवधिक समीक्षा, मूल्यांकन तथा व्यवहारिक कार्यान्वयनमा देखिएका कमजोरी र त्रुटिहरूमाथि गम्भीर अध्ययन–विश्लेषण गरी संशोधनको तयारी गर्न आवश्यक रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत संविधान संशोधनको बहसलाई केवल सत्ता समीकरणको सुविधासँग मात्र जोडेर हेर्न नहुने उल्लेख गर्दै यो विषय राज्य संरचना, शासकीय क्षमता र आम जनचाहनासँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर राष्ट्रिय मुद्दा भएको बताएका हुन् ।

नेता केसीले निरन्तरको राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन, संघीय संरचनाभित्रको अस्पष्ट अधिकार बाँडफाँट तथा अत्यधिक खर्चिलो शासन प्रणालीका कारण संविधान संशोधनको आवश्यकता महसुस गरिएको बताए । 

उनले संशोधनका नाममा शाश्वत लोकतान्त्रिक मूल्य, समावेशिता, मौलिक अधिकार र शक्ति सन्तुलनलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए । 

अहिलेको जटिल राष्ट्रिय परिस्थिति तथा द्वन्द्व केन्द्रका रूपमा विकसित भइरहेको नेपालको भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सीमित स्वार्थ र चाहनाबाट प्रेरित संशोधन नभई समग्र राष्ट्रिय एकता र मेलमिलापको दीर्घकालीन यात्राको मार्गदर्शक बन्नुपर्नेमा उनको जोड छ । 

 नेता केसीले यसअघि पनि संसद्, पार्टी र सार्वजनिक रूपमा पटक–पटक यो विषय उठाउँदै आएको उल्लेख गर्दै पुनः राष्ट्रका सबै पक्षसँग संवादका लागि पूर्वप्रधान न्यायाधीशको संयोजनमा वरिष्ठ संविधानविद् तथा विज्ञहरू सम्मिलित उच्चस्तरीय ‘संविधान सुधार सुझाव आयोग’ गठन गर्न माग गरेका छन् ।

साथै उनले राष्ट्रिय संवाद, सर्वपक्षीय सम्मेलन तथा सबै राष्ट्रिय विचारको संयोजन अपरिहार्य रहेको भन्दै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?