काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश तहमा पुगेपछि जिम्मेवारी व्यापक हुने भएकाले सम्पूर्ण जिल्लालाई समेटेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ । जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन, तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन ।’
साम्पाङले पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनका समान हिस्सेदार भएको धारणा राखे। फुटबल टोलीको उदाहरण दिँदै उनले अध्यक्षले मात्र होइन, सदस्यहरूले पनि गोल गर्न सक्ने भएकाले हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताए ।
उनले श्रम संस्कृति पार्टी काम गर्ने पार्टी भएको उल्लेख गर्दै प्रत्येक सदस्यले श्रमदानमा जोडिनुपर्ने बताए । ‘एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन् । यो सफलता होइन, निरन्तरताको परिणाम हो, ‘उनले भने ।
पार्टी निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए ।
त्यसै गरी, उनले महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । प्रदेश पदाधिकारीहरूलाई नियमित सम्पर्कमा रहन, बैठक सञ्चालन गर्न र सङ्गठनलाई लोकतान्त्रिक ढङ्गले अघि बढाउन पनि उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया