चोभारमा गोली हानेर नियन्त्रणमा लिइएका शाहीलाई ट्रमा सेन्टर लगियो

लोकपथ
0
Shares

काठमाडौं । चोभारमा गोली प्रहार गरेर नियन्त्रणमा लिएको सुजन शाहीलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

शाहीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएपछि प्राथमिक उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगेको थियो । त्यहाँ प्राथमिक उपचारपछि राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो ।

अहिले शाहीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

शाही गत वैशाख २३ गते बुधबार कीर्तिपुरमा एक युवकको हत्यामा संलग्न रहेको समेत खुलेको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर–१० मा पर्ने बोडेटोलमा छुरा प्रहार गरी गुल्मीको धुर्कोट गाउँपालिका–७ का विपिन घिमिरेको हत्या भएको थियो ।

५ जनाको समूहमा आएका युवाहरूको समूहले घिमिरेमाथि आक्रमण गरी छुरा प्रहार गरेका थिए ।

छुरा प्रहार गर्ने व्यक्तिहरू चिनजानकै व्यक्तिहरू रहेको र आपसी रिसिइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेका ३ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । त्यति बेला पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ का २३ वर्षीय रवीन्द्र धामी र कैलाली घोडाघोडी नगरपालिका–१ का २२ वर्षीय रोशन विष्ट रहेका थिए । तर पक्राउ परेकाहरू मुख्य अभियुक्त नभई आक्रमण गर्ने र आक्रमणमा पर्ने दुवैका साथीहरू रहेको खुलेको छ ।

आक्रमणमा संलग्न मुख्य व्यक्ति नै सुजन शाही रहेको खुलेको छ ।

उनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?