काठमाडौं । चोभारमा गोली हानेर नियन्त्रणमा लिइएका व्यक्ति कीर्तिपुरमा युवकको हत्या गर्ने आरोपित रहेको खुलेको छ । बिहीबार साँझ प्रहरीले काठमाडौंको चोभारमा एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डिएसपी अनिल घिमिरेको नेतृत्वमा टोलीले गोली हानेर नियन्त्रणमा लिइएका व्यक्ति कालिकोटमा जन्मिएर कैलालीमा बस्दै आएका सुजन शाही रहेको खुलेको छ ।
गत वैशाख २३ गते बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर-१० मा पर्ने बोडेटोलमा छुरा जस्तै देखिने धारिलो हतियार प्रयोग गरी गुल्मीको धुर्कोट गाउँपालिका-७ का विपिन घिमिरेको हत्या गरिएको थियो ।
५ जनाको समूहमा आएका युवाहरूको समूहले घिमिरेमाथि आक्रमण गरी छुरा प्रहार गरेका थिए ।
छुरा प्रहार गर्ने व्यक्तिहरू चिनजानकै व्यक्तिहरू रहेको र आपसी रिसिइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीले घटनामा संलग्न रहेका ३ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । त्यति बेला पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ का २३ वर्षीय रवीन्द्र धामी र कैलाली घोडाघोडी नगरपालिका–१ का २२ वर्षीय रोशन विष्ट रहेका थिए । तर पक्राउ परेकाहरू मुख्य अभियुक्त नभई आक्रमण गर्ने र आक्रमणमा पर्ने दुवैका साथीहरू रहेको खुलेको छ । आक्रमणमा संलग्न मुख्य व्यक्ति नै सुजन शाही रहेको खुलेको छ ।
आक्रमणमा संलग्न अर्का एक जना भने अझै फरार रहेका छन्, उनको खोजी भइरहेको छ ।
आक्रमण लगत्तै फरार भएका शाही काठमाडौंबाट भागेर अन्यत्र पुगेका थिए । तर बिहीबार मात्रै उनी चोभारमा रहेको कोठामा आएको जानकारी पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी शाहीलाई नियन्त्रणमा लिन चोभार पुगेको थियो । तर प्रहरी आएको थाहा पाए लगत्तै शाही भाग्न खोजेपछि प्रहरीले गोली हानेर शाहीलाई नियन्त्रणमा लिएको हो ।
शाहीको गोडामा गोली लागेको छ । अहिले उपचार भइरहेकाले उनको स्थितिबारे थप जानकारी आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया