नीति तथा कार्यक्रम सरकारको मेरुदण्ड हाे, प्रधानमन्त्रीले अपनत्व लिनुपर्छ : ज्ञानेन्द्र शाही

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले संसदलाई छलेर उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप लगाउँदै उनले यसप्रति कडा आपत्ति जनाएका हुन् ।

संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने र उठेका प्रश्नहरूको जवाफ दिने दायित्व प्रधानमन्त्रीकै भएको स्पष्ट पारे ।

प्रधानमन्त्री सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसाल्न सक्ने तर संसद्मा आएर जनताका प्रतिनिधिहरूको प्रश्नको सामना गर्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई उनले सत्तापक्ष र प्रतिपक्ष मात्र नभई समग्र सार्वभौम संसद्कै अपमानका रूपमा चित्रण गरे । उनले भने, ‘नीति तथा कार्यक्रम सरकारको मेरुदण्ड हो । विश्वव्यापी प्रचलन र हाम्रो संसदीय अभ्यासअनुसार प्रधानमन्त्रीले यसको अपनत्व लिनुपर्छ । प्रधानमन्त्री बिरामी भएको वा देशबाहिर रहेको अवस्थामा बाहेक अन्य मन्त्रीलाई जवाफ दिने अधिकार सुम्पनु संसदीय मर्यादाविपरीत हुन्छ ।’

शाहीले जनताको सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने र त्यसको प्रमुख थलो संसद नै भएको उल्लेख गरे । प्रधानमन्त्रीलाई संसद्मा मनोरञ्जनका लागि नभई देशको आगामी कार्यदिशा, प्राथमिकता र जनताका ज्वलन्त समस्याबारे जवाफ दिन बोलाइने भएकाले नीति तथा कार्यक्रमभन्दा महत्त्वपूर्ण विषय सरकारका लागि अरू हुन नसक्ने उनको तर्क थियो ।

उनले केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले विरोध गरेको विगत स्मरण गराउँदै अहिले पनि सबै दलले जवाफदेहिताको पक्षमा उभिनुपर्ने बताए । प्रधानमन्त्रीले कुनै पनि बहानामा संसदबाट भाग्न नपाउने अडान दोहोर्‍याउँदै उनले प्रधानमन्त्रीको अनुपस्थितिकै कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए । आगामी रणनीति छलफलपछि तय गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?