काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले संसद बैठक कक्ष छाडेको घटनाबारे तत्काल स्पष्टिकरण दिन सरकारसँग माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले सदनबाट बाहिरिनु संसदीय मर्यादा र संवैधानिक संस्कार विपरित भएको आरोप लगाइन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उक्त व्यवहार लोकतान्त्रिक संसदीय इतिहासमै दुर्लभ र गैरजिम्मेवार देखिएको भन्दै संसदमा तत्काल जवाफ दिन आग्रह गरिन् ।
थापाले संवैधानिक पदहरूको सम्मान, संसदीय परम्पराको संरक्षण र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य होइन, यो संवैधानिक संस्कार र संसदीय परम्पराको उल्लङ्घन हो । त्यसैले यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।’
प्रमुख सचेतक थापाले संवैधानिक पदको मर्यादा र जनविश्वासलाई उच्च राखेर अघि बढ्न सरकारलाई सचेत पनि गराइन् ।
कांग्रेसले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गर्दै विषयलाई संसदमा गम्भीर छलफलमा लैजानुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया