बालेनको पोशाक र संसद छाडेर हिँडेकोप्रति एमालेले जनायो आपत्ति

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले प्रधानमन्त्रीको पोशाक र संसदीय मर्यादाप्रति आपत्ति प्रकट गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा बोल्दै सांसद बरालले राष्ट्रिय पहिचान र सुशासनका लागि प्रधानमन्त्रीले राष्ट्रिय पोशाकको पालना गर्नुपर्ने विषयमा सभामुखको ध्यानाकर्षण गराए ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले राष्ट्रिय महत्वका बैठकहरूमा देशको कार्यकारी प्रमुखले राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति पनि उनले प्रश्न उठाए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रियामा प्रधानमन्त्रीले सम्बोधनको बिचैमा बाहिरिएर बहिष्कार गरेको भन्दै बरालले यसबाट नीति तथा कार्यक्रमप्रति सरकारको अपनत्व माथि संशय उत्पन्न भएको बताए ।

उनले भने, ‘आज देशले सुशासन र राष्ट्रिय मर्यादासँगै राष्ट्रिय पहिचानको माग गरेको छ । प्रधानमन्त्री ज्युले संयुक्त सदनको बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन रु हामीले कस्तो थिति बसाल्ने हो, म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’

संसदीय मर्यादाको उल्लंघन भएको दाबी गर्दै बरालले राष्ट्रपतिको संबोधन चलिरहेका बेला प्रधानमन्त्रीले करिव १५ मिनेटसम्म संवादमा अल्झिएर बसेको विषयलाई ‘अशोभनीय’ संज्ञा दिए ।

उनले भने, ‘बैठकको निश्चित मर्यादा हुन्छ । राष्ट्रपतिको संबोधन भइरहँदा प्रधानमन्त्री ज्युले संवाद र छलफलमा समय बिताउनु संसदीय मर्यादाविपरित छ । यस्ता गतिविधि रेकर्डबाट हटाइनुपर्छ ताकि भविष्यका लागि सही नजिर बसोस् ।’

सांसद बरालको जिज्ञासा र ध्यानाकर्षणपछि सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका थिए । सभामुखले यस विषयमा अध्ययन गर्न र सत्यतथ्य बुझ्न संसद सचिवालयलाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?