आजदेखि बजेट अधिवेशन सुरु, आजै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

लोकपथ
0
Shares

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन सुरु भएपछि राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार संयुक्त बैठकअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । संयुक्त बैठकमा सहभागी हुन सांसदहरूलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित हुन अनुरोध गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइनेछ । मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना पनि सदनमा प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावलीसम्बन्धी प्रस्ताव तथा अन्य प्रक्रियागत विषय पनि पेस गरिनेछन् ।

सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि संसद्मा प्रस्तुत हुनेछन् । तीमध्ये सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश प्रमुख रहेका छन् । यी अध्यादेश राष्ट्रियसभामा पनि पेस गरिने संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?