पार्टीमा गुटबन्दी हुन थालेको रविलाई महसुस, कडा कदम चाल्ने चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् ।

आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए ।

उनले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरु नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गरे ।

प्रधानमन्त्री बालेन र आफूबिच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ छ । उनले आफूहरुलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरु राजनीतिक रुपमा परिपक्व भएको बताए ।

उनले भने, ‘म त यताको हो नि, म त उताको होनी भनेको कारण मन्त्री नभएका साथीहरु पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौँ न त भने होइन यो देशमा इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरु हौँ । हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जायस नै छैन । सम्भावना नै छैन । ७० वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेहरुबिच झगडा परेको कारणले हामी ७० वर्ष पछाडि परेका छौँ । त्यसकारण यो सम्भव छैन । कहिलेकाँही मिडियाका साथिहरुले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन् । बडो मुख मिठ्याउनुहुन्छ । आई एम सरी, वास्ना त आउला तर खाना सर्बिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याचुअर इनअफ ।’

उनले आफूहरु नयाँ भएपनि बेवकुफ नभएको बताए । उनले फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरुको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?