सांसदलाई रविको कटाक्ष– ‘क्यामेरा देखेपछि चर्को स्वर नगर्नूस्, भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निर्वाचित सांसदहरुलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् ।

सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले भाइरल मानसिकताबाट माथि उठेर विधेयकहरुमा केन्द्रित हुन सुझाव दिएका हुन् ।

‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाता कहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’

त्यस्तै आफ्नोबारे सबैतिर चर्चा भएको सबैलाई मन पर्ने साथै आफूमा पनि त्यसबारे अलिकति लोभ रहेको उनको स्वीकारोक्ति रहेको छ ।

‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको होइन । आफ्नो कभरेज राम्रो होस भन्ने स्वभाविकरुपमा आशा र अपेक्षा रहन्छ । तर हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ,’ उनले भने ।

यसैगरी देशभर सरकारले सुकुमबासी हटाउन भन्दै डोजर चलाएको विषयमा सरकारको आलोचना हुँदा कतिपय सांसदहरु त्यसैमा लागेको भन्दै कटाक्ष गरे । उनले सरकारको विरोध गर्ने भए सडकमै गएर गरे हुन्छ भन्दै आक्रोशित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?