गणेश पराजुलीले भने : पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ ।

शनिबार आयोजित उक्त कार्यक्रममा पार्टीका १ सय ८२ सांसदमध्ये अपेक्षित संख्या उपस्थित नभएपछि संसदीय दलका उपनेता राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै पराजुलीले सांसदहरूले यस्ता प्रशिक्षणलाई कम महत्व दिएको भन्दै यो प्रवृत्ति संसदीय भूमिकाबाट विमुख हुने संकेत भएको टिप्पणी गरे । उनका अनुसार प्रशिक्षण केवल औपचारिक कार्यक्रम नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर हो ।

उनले जनताले अब नयाँ अनुहार मात्र होइन, नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति अपेक्षा गरिरहेको उल्लेख गर्दै सांसदहरूलाई अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वमा ध्यान दिन आग्रह गरे ।

पराजुलीले भने, राजनीतिक अभ्यास अब नाराले मात्र नचल्ने भन्दै क्षमता, अध्ययन र परिणामले मात्र जनविश्वास जित्न सकिने अवस्था आएको छ । उनका अनुसार पार्टीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएको छ ।

उपनेता पराजुलीले प्रशिक्षणमा अपेक्षित सहभागिता नदेखिनु गम्भीर विषय भएको बताउँदै यसबारे पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी पनि दिए ।

उनले आगामी दिनमा थप प्रशिक्षण सत्रहरू सञ्चालन गरिने जानकारी दिँदै सांसदहरूलाई अन्तिमसम्म सहभागी भई सिकाइ र सुधारका लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?