काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी मीनाकुमारी खरेललाई दिएको छ ।
सभापति गगनकुमार थापाले खरेललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम चितवनकी खरेललाई जिम्मेवारी दिएका हुन् ।
वैशाख २१ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद समाप्त भएका भ्रातृ संगठनहरुको म्याद सकिएको र स्वतः विघटन गरेको घोषणा गरेको थियो ।
खरेललाई कांग्रेसले महिला संघको जिम्मेवारी दिँदै तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी १७ बुँदे कार्यदेश र कार्य विवरणसहित जिम्मेवारी दिइएको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री गगनकुमार थापाद्घारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री मीनाकुमारी खरेल (चितवन) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न देहाय बमोजिमको १७ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गरिरहेकी खरेल गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धा गरेकी थिइन् ।
रास्वपा सभापति रवि लामिछानेसँग प्रतिष्पर्धामा आएकी खरेल पराजित भइन् । रविले ५४ हजार ४०२ मत प्राप्त गर्दा खरेलले १४ हजार ५ सय २ मत प्राप्त गरेकी थिइन् ।
खरेल लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै निरन्तर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आइरहेकी छिन् ।
त्यस्तै उनलाई आगामी जेठ १५ गतेभित्र पार्टी सभापतिसँगको परामर्शमा सबै क्षेत्र, वर्ग, उमेर समुह, समुदाय र भुगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने जिम्मेवारी समेत तोकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया