प्रधानन्यायाधीश सिफारिसपछि खुश्बु ओलीको टिप्पणी– ‘वरिष्ठताको मान्यता कमजोर बनाइयो’

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको रोलक्रम मिचिएको भन्दै सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वरिष्ठताको स्थापित मान्यता र संस्थागत प्रक्रियालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएकी हुन् ।

ओलीले वरिष्ठता भनेको केवल उमेर वा बाह्य अवस्थासँग सम्बन्धित विषय नभई संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णयक्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड भएको उल्लेख गरेकी छन् ।

‘सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन् । स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अगाडि बढ्दै छ,‘उनले लेखेकी छन्।

उनले सरकारले वरिष्ठताको रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिमा गलत नजिर स्थापित गरेको दाबी गरेकी छन् ।

ओलीले विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने प्रतिबद्धता जनाएको सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेकी छन् ।

उनका अनुसार पछिल्लो निर्णयले राज्य प्रणालीमा विधिभन्दा अधिनायकवादी प्रवृत्ति प्रभावशाली बन्दै गएको सन्देश दिएको छ ।

‘दुर्भाग्य, फेरि एकपटक थिति बसाल्ने अवसर गुमाइएको छ,‘उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?