भारतको चुनावी नतिजाले नेपालको वामपन्थी भविष्य निर्धारण हुँदैन : शंकर पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नहुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भारतमा हालै सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी दल सत्ता बाहिरिएको घटनालाई आधार बनाएर नेपालमा पनि वामपन्थ संकटमा परेको निष्कर्ष निकाल्नु गलत भएको बताएका हुन् ।

भारतको केरला राज्यको चुनावी परिणामसँग नेपालको वाम आन्दोलनलाई जोडेर गरिएको विश्लेषणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने परम्परा रहेको स्मरण गराएका छन् । उनले अघिल्लो निर्वाचनमा भने वाम गठबन्धन पुनः सत्तामा फर्किएको उदाहरणसमेत दिएका छन् ।

पोखरेलले संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिले चुनौतीलाई अवसरमा बदल्ने क्षमता राख्नुपर्ने बताएका छन् ।

‘संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ,‘उनले लेखेका छन् ।

नेपालको वामपन्थी भविष्य भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रहितका पक्षमा गरिने गतिविधि तथा जनतासँगको सम्बन्धका आधारमा तय हुने पोखरेलको भनाइ छ ।

उनले हालको हारलाई केवल वामपन्थी शक्तिको मात्र नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा व्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?