काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारले ल्याएको अध्यादेश कुनै राजनीतिक दलविरुद्धलक्षित नभई देशको प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने उद्देश्यले आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले उक्त अध्यादेशलाई देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत प्रणालीतर्फ लैजाने प्रयास भएको बताए ।
उनका अनुसार शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव अन्त्य गर्नु यसको मुख्य उद्देश्य हो ।
प्रधानमन्त्री बालेनले वर्षौंदेखि विभिन्न क्षेत्रका व्यक्ति तथा समूहले विद्यार्थी र कर्मचारीतन्त्रमा राजनीतिक दलको प्रभाव बढेको भन्दै आलोचना गर्दै आएको उल्लेख गरेका छन् ।
उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक निकटताले प्राथमिकता पाउँदा प्रणालीप्रति जनविश्वास कमजोर भएको छ ।
उनले भनेका छन्, ‘नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षता आधार बन्नुपर्छ । साथै शिक्षालयमा दलगत झण्डा र कर्मचारीतन्त्रमा राजनीतिक प्रभाव निषेध गर्ने व्यवस्था आवश्यक भएको उनको भनाइ छ ।’
उनले विद्यार्थीलाई सभ्य, विचारशील र जिम्मेवार राजनीतिक शिक्षा दिनुपर्ने र कर्मचारीले कुनै दल होइन, राज्य र जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम उल्लेख गर्दै शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने विषयमा संगठन विस्तार नभए पनि चाहना भए ठूला संरचना बनाउन सकिने टिप्पणी गरेका छन् ।
बालेनले यो कुनै दलविरुद्धको लडाइँ नभई प्रणाली जोगाउने प्रयास भएको दाबी गर्दै जनताको चाहनाअनुसार नै अध्यादेश ल्याइएको बताएका छन् । उनले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै नागरिकको साथ र विश्वास आवश्यक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया