काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले गर्ने नियुक्ति स्वाभाविक रूपमा राजनीतिक हुने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि सुरु भएको बहसका बीच चालिसेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
चालिसेले कार्यपालिकाले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आफूअनुकूल व्यक्ति चयन गर्नु अस्वाभाविक नभएको उल्लेख गरेका छन् । उनले पुराना नियुक्तिलाई दलीय भन्दै बदनाम गर्ने र नयाँ नियुक्तिलाई सुधारका नाममा प्रस्तुत गर्ने काम क्षणिक राजनीतिक सोच भएको टिप्पणी गरे ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि विभिन्न दलबाट आएका नेता तथा कार्यकर्ता रहेका छन् । अरू दलका पालामा भएका नियुक्तिलाई सामूहिक रूपमा अस्वीकार गर्ने हो भने त्यसको असर आफ्नै पार्टीभित्र पनि पर्न सक्ने उनले बताएका छन् ।
‘यहाँ कोही पनि पूर्ण रूपमा निर्दलीय छैन, रास्वपा पनि एउटा राजनीतिक दल नै हो,भन्दै चालिसेले सबै व्यक्तिमा कुनै न कुनै विचार र राजनीतिक आस्था रहने बताएका छन् ।
उनले मतदाता हुनु र कार्यकर्ता हुनु फरक विषय भएको उल्लेख गर्दै केवल राजनीतिक आस्था वा सम्बन्धकै आधारमा योग्य व्यक्तिलाई अयोग्य घोषणा गर्नु गलत संस्कृति भएको बताए । यस्तो प्रवृत्तिले समाजमा घृणा र विभाजन बढाउने उनको चेतावनी छ ।
राष्ट्रपति पौडेलले जारी गरेको अध्यादेशअनुसार अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज हुने व्यवस्था गरिएको छ । अध्यादेश सार्वजनिक भएसँगै यसको पक्ष र विपक्षमा विभिन्न राजनीतिक दल तथा नेताहरूको प्रतिक्रिया आउन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया