कानुनमन्त्री गौतमको स्पष्टीकरण : ‘द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो’

लोकपथ
28
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले जनताको काम छिटो र प्रभावकारी बनाउन अध्यादेश ल्याएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले अध्यादेशबारे उठेका समर्थन र आलोचनाबीच सरकारको धारणा सार्वजनिक गरेकी हुन् ।

उनले सरकार पनि कानुनकै अधीनमा रहने र विधायिकाले बनाएको कानुनअनुसार काम गर्ने स्पष्ट पारिन् । साथै, नेपालको शासन व्यवस्था संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको र संघीय संसद् दुई सदनात्मक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) भएको उनले सम्झाइन् ।

मन्त्री गौतमका अनुसार सामान्य अवस्थामा सरकारले ल्याएको विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐन बन्छ । तर संसद् नचलेको बेला तत्काल आवश्यक काम गर्न संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याउन सकिन्छ ।

उनले केही क्षेत्रमा कानुन स्पष्ट नभएकाले काममा ढिलाइ भइरहेको र विधेयक पास गर्न ३–४ महिना लाग्ने भएकाले तुरुन्त समाधानका लागि अध्यादेश ल्याइएको बताइन् ।

विगतमा अध्यादेशको दुरुपयोग भएको भन्दै आलोचना हुनु स्वाभाविक भए पनि अहिलेको अवस्था फरक रहेको उनको दाबी छ । संसद्मा सरकारको करिब दुईतिहाइ बहुमत भएकाले कुनै कुरा लुकाएर गर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् ।

उनका अनुसार अध्यादेश कुनै लुकेको उद्देश्यका लागि नभई कामलाई छिटो र प्रभावकारी बनाउन ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?