सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ : माधवकुमार नेपाल

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन् ।

१३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सुकुमबासी, मजदुर तथा ट्रेड युनियन अधिकारमाथि बेवास्ता गरिरहेको बताएका हुन् ।

सहसंयोजक नेपालले जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकारसमेत सरकारले कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अहिले नै सावधान गराउनुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले सरकारको एक सय दिन पनि पूरा नभएको अवस्थामा राम्रो संकेत नदेखिएको टिप्पणी गर्दै जनविरोधी कदम नचाल्न आग्रह गरे । ‘भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ,‘उनले भने, ‘जनतालाई पीडा र यातना दिने काम गर्नुहुँदैन ।

सहसंयोजक नेपालले मजदुर वर्गले सरकारको गलत कदमविरुद्ध अग्रसर भएर आवाज उठाउनुपर्ने बताए । साथै उनले पार्टीमा आबद्ध मजदुर नेताहरूलाई पनि सरकारका अनुचित कामको विरोध गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?