अध्यादेशप्रति प्रचण्डको आपत्ति, भने– ‘लोकतन्त्र र संवैधानिक मान्यताविरुद्ध छ’

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद् अधिवेशन रोक्दै ल्याएको अध्यादेश लोकतन्त्र र संवैधानिक मान्यताविरुद्ध भएको बताएका छन् ।

रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सदनलाई छलेर अध्यादेश ल्याउनु असहज र अलोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गरे ।

‘बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेश ल्याउनु र फेरि सदन बोलाउने प्रक्रिया अपनाउनु लोकतन्त्रको खिलाफमा छ,‘उनले भने ।

प्रचण्डले उक्त अध्यादेश राष्ट्रपतिकहाँ पुगिसकेको उल्लेख गर्दै अब त्यसको निर्णय प्रतीक्षाको विषय भएको बताए । उनका अनुसार विशेष परिस्थितिमा अध्यादेश आवश्यक हुन सक्ने भए पनि सदन नै नबोलाई प्रक्रिया अघि बढाउनु गलत अभ्यास हो । संवैधानिक परिषद्मा आफ्नो पक्ष अनुकूल बनाउने उद्देश्यले अध्यादेश ल्याइएको उनको आरोप छ ।

त्यसैगरी, उनले सरकारले काठमाडौंबाट सुरु गरेको सुकुमबासी बस्ती हटाउने अभियान देशभर विस्तार गर्ने तयारीप्रति पनि आपत्ति जनाए । वैकल्पिक व्यवस्था नगरी र वास्तविक सुकुमबासीको पहिचान बिना बल प्रयोग गरी बस्ती हटाउनु गलत भएको उनको भनाइ थियो ।

‘गरिब र निमुखा नागरिकलाई आहत हुने गरी गरिएको यस्तो कार्य गलत हो, ‘उनले भने ।

प्रचण्डले वास्तविक सुकुमबासीको पहिचान गरी वैकल्पिक व्यवस्थासहित सहमतिका आधारमा मात्र बस्ती व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?