काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी दलहरुले सरकारले हालै राष्ट्रपति समक्ष सिफारिस गरेको अध्यादेशबारे असन्तुष्टि जनाएको छ ।
सरकारले विभिन्न अध्यादेश राष्ट्रपति समक्ष पेस गरेसँगै बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा बसेको बैठकले सरकारलाई उक्त अध्यादेश फिर्ता लिन आग्रह समेत गरेको छ । साथै राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त अध्यादेशहरु स्वीकृत नगर्न समेत भनेका छन् ।
साथै सरकारले बोलाएर एकैदिनमा स्थगित गरेको संसद अधिवेशन तत्काल बोलाउन समेत विपक्षी दलहरुले माग गरेका छन् ।
यस्ता छन् विपक्षी दलहरुको बैठकको निर्णय
१. नेपाल सरकारले यही वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन २०६६ र सरकारी ऐन २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश निर्णय गरी सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । संसदको अधिवेशन आह्वान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकाले यसको घोर विरोध, भर्त्सना र निन्दा गर्दछौँ ।
२. उक्त अध्यादेश अबिलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।
३. सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भइ गएका अध्यादेशहरु संसद छल्ने उदेश्यका साथ आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौँ ।
४.स्थगन गरिएको संसद अधिवेशन अभिलम्ब बोलाउन जोडदार माग गर्दछौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया