संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु गलत हो : पूर्णबहादुर खड्का

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद् स्थगन गरी अध्यादेश जारी गर्ने सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खड्काले विशेष परिस्थिति र अत्यावश्यक अवस्थामा मात्र अध्यादेश ल्याउने अभ्यास स्वाभाविक भए पनि यसपटक सरकारले फरक र गलत प्रक्रिया अपनाएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘सरकारले संसद् नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशलाई धेरै हित हुने जस्ता विषयमा कहिलेकाहीँ अध्यादेश ल्याउनुलाई स्वाभाविक मानिए पनि यसपटक सर्वथा पृथक् काम भयो। बोलाएको संसद् बैठकै नबसाई संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कले ठिक भन्न मिल्दैन ।’

खड्काले सरकारले अध्यादेश फिर्ता गरी तत्काल संसद् बैठक बोलाएर सम्बन्धित विषयलाई विधेयकमार्फत अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनका अनुसार फास्ट ट्र्याक प्रक्रियाबाट संसद्मा छलफल गरी निर्णय लिनु उपयुक्त हुने थियो ।

उनले अध्यादेशलाई आधार बनाएर अघि बढ्ने प्रवृत्ति दोहोरिनु अहङ्कारी कदम हुने भन्दै यसले सरकार, लोकतान्त्रिक मूल्य–मान्यता र दीर्घकालीन राष्ट्रिय हितमा नकारात्मक असर पार्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?