काठमाडौं । वैशाख १२ नेपाली समाजका लागि कहिल्यै नमेटिने पीडाको प्रतीक बनेको छ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पको सम्झनाले हरेक वर्ष यो दिन देशभर एकैपटक घाउ बल्झाइदिन्छ । दशक बितिसक्दा पनि भूकम्पका चोटहरू पूर्ण रूपमा निको हुन सकेका छैनन् ।
२०७२ वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७।६ रेक्टर स्केलको भूकम्पमा आठ हजार ९७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । उक्त भूकम्पले लाखौँ नागरिकको घरबार उजाड बनायो, हजारौँ परिवार विस्थापित भए ।
भूकम्पबाट करिब १० लाख निजी आवासमा क्षति पुगेको थियो भने सात हजार ५५३ विद्यालय, ४९ हजारभन्दा बढी कक्षाकोठा, ५४४ स्वास्थ्य संस्था पूर्ण रूपमा ध्वस्त भएका थिए । यसबाहेक सयौँ सरकारी भवन, सांस्कृतिक सम्पदा, खानेपानी संरचना, सडक र बस्तीमा समेत ठूलो क्षति पुगेको थियो ।
दशक बित्दा पनि पुनर्निर्माणको काम पूर्ण रूपमा सकिएको छैन । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ करिब ८९ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । आठ लाखभन्दा बढी लाभग्राहीमध्ये अधिकांशले पहिलो किस्ता पाए पनि सबैले निर्माण कार्य पूरा गर्न सकेका छैनन् ।
समयमै सम्बन्धित निकायमा सम्पर्क नगर्ने, जग्गा व्यवस्थापनमा समस्या, प्रशासनिक जटिलता र आर्थिक अभावजस्ता कारणले पुनर्निर्माण ढिलाइ भएको बताइएको छ । सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँ अनुदानले घर निर्माण पूरा गर्न पर्याप्त नहुँदा धेरैले काम ढिलो सुरु गरेका थिए ।
महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले पनि पुनर्निर्माण कार्य प्रभावकारी रूपमा सम्पन्न हुन नसकेको औँल्याएको छ । प्रतिवेदनअनुसार अर्बौँ रुपैयाँ खर्च भए पनि अझै केही लाभग्राहीले अनुदानको किस्ता पाउन बाँकी रहेको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा नीतिगत अस्पष्टता, निर्माण लागत वृद्धि र लाभग्राहीको कमजोर आर्थिक अवस्था प्रमुख चुनौती बनेका छन् । पूर्वाधार विज्ञहरूका अनुसार सुरुदेखि नै स्पष्ट नीति नहुँदा कार्यान्वयनमा अन्योल देखिएको थियो ।
यस्तै, भूकम्पीय जोखिम अझै कायम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल उच्च जोखिमयुक्त क्षेत्रमै रहेको छ, विशेषगरी काठमाडौंदेखि चुरे क्षेत्रसम्म जोखिम बढी रहेको बताइएको छ ।
भूकम्पपछि भवन निर्माण आचारसंहिता कार्यान्वयन, संरचना बलियो बनाउने प्रयास र जनचेतनामा केही सुधार भए पनि अझै पर्याप्त छैन । विशेषज्ञहरूका अनुसार भूकम्पसम्बन्धी शिक्षा, पूर्वतयारी अभ्यास र खुला स्थान संरक्षणमा ध्यान नदिए भविष्यमा थप ठूलो क्षति हुन सक्ने जोखिम कायमै छ ।
वैशाख १२ ले दिएको पाठ अझै पूर्ण रूपमा व्यवहारमा उतार्न नसकिएको यथार्थले देखाउँछ—भूकम्पको सम्झना मात्र होइन, तयारी पनि उत्तिकै जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया