प्रहरी एकेडेमीको जग्गा स्वामित्वबारे सरकारको निर्णय स्वागत योग्य छ : पूर्व प्रहरी मञ्च

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)को जग्गा प्रहरीकै स्वामित्वमा रहने सरकारको निर्णयलाई पूर्व प्रहरी प्रमुखहरूको मञ्चले धन्यवाद व्यक्त गरेको छ ।

पूर्व प्रहरी संगठन प्रमुखहरूको मञ्चले एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई सकारात्मक र स्वागतयोग्य भन्दै धन्यवाद व्यक्त गरेको हो ।

विज्ञप्तिमा प्रहरी एकेडेमीलाई केवल सरकारी संरचना नभई संगठनको इतिहास, पहिचान र प्रहरी कर्मचारीको आत्मासँग प्रत्यक्ष जोडिएको जीवित धरोहरका रूपमा उल्लेख गरिएको छ ।

‘संगठनको मानव स्रोत व्यवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रूपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा प्रतिष्ठान मात्र थिएन, यो प्रत्येक प्रहरी कर्मचारीको आत्मासँग जोडिएको जिउँदो इतिहास हो,‘विज्ञप्तिमा भनिएको छ ।

मञ्चले सीमित स्रोतसाधनका बीच प्रहरी कर्मचारी र नागरिकको सहयोगमा सञ्चालन हुँदै आएको प्रहरी एकेडेमीलाई सफल व्यवस्थापनको उदाहरणका रूपमा समेत प्रस्तुत गरेको छ ।

मञ्चका संयोजक पूर्वआईजीपी मोतिलाल बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीको गौरवशाली इतिहास बोकेको मौलिक संरचनालाई अन्य सरकारी निकाय विस्तारका नाममा अतिक्रमण गर्ने पुरानो निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?