थापाथलीमा चल्यो डोजर, स्थिति शान्तिपूर्ण [तस्बिरहरु]

लोकपथ
49
Shares

काठमाडौं । आजको बिहानी थापाथलीको सुकुमबासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौँको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बिच जब डोजरले बस्तीमा प्रवेश गर्‍यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो । बाँस र जस्तापाताबाट बनाइएका घरहरू मात्र भत्किएनन्, ती घरहरूभित्र जोडिएका मान्छेका वर्षौँदेखिका सपनाहरू सडकमा छरपस्टिएका छन् । 

बालबालिकाको कापी–किताबदेखि वृद्ध वृद्धाको ओत लाग्ने थलोसम्म डोजरको पांग्राले किचेको छ । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ । घर भत्किरहेको दृश्य नियालिरहँदा उनको आँखामा देखिएको शून्यताले यो राज्य कतिसम्म कठोर हुनसक्छ भन्ने प्रश्न खडा गरेको छ । 

एउटा सामान्य ओतको लागि वर्षौँदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ? यो प्रश्न आज थापाथलीको धुलोमा उडिरहेका कागजातहरू जस्तै सडकमा छताछुल्ल भएको छ । आज थापाथलीको बस्तीमा केवल डोजरको आवाज सुनिएको छ, तर भत्किएका घरहरूभित्रबाट आउने रुवाइलाई सरकारले कसरी सुन्छ त्यो भने हेर्न बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?