कांग्रेसद्वारा नेविसंघ नेताहरूको गिरफ्तारीप्रति आपत्ति, तत्काल रिहा गर्न माग

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

हिजो गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन गर्न गएका बेला नेविसंघका केही नेताहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य ई. भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल विसीलगायत रहेका छन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध, वाक स्वतन्त्रता र हिँडडुल गर्ने अधिकार नागरिकका मौलिक अधिकार भएको बताएका छन् । यस्ता अधिकार प्रयोग गर्दा पक्राउ गर्नु लोकतन्त्रको मूल्य र संविधानविपरीत भएको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू हुन् । यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व हो । यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ ।’

कांग्रेसले असहमति र विरोधलाई दमन गर्नुको सट्टा संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै पक्राउ परेका नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेको छ । साथै भविष्यमा नागरिकका मौलिक अधिकारमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?